काठमाडौं–नेपालले उद्धारका लािग कुनै पहल नगरेपछि रुसी सेनामा भर्ना भएका नेपालीले भारत सरकारसमक्ष सहयोगको याचना गरेका छन् ।
उनीहरुले एक भिडियो सन्देशमार्फत् आफूहरुलाई दलालले रुसी सेनामा हेल्परका लागि भन्दै पठाए पनि युद्धमा पठाइएको भन्दै त्यहा“बाट निस्कन चाहेको बताएका छन् । हिन्दी भाषामा गरिएको याचनामा आफूहरुसँगै रहेका भारतीयलाई भारत सरकारले उद्धार गरे पनि नेपाल सरकार र दूतावासले केही नगरेको भन्दै छिमेकी देशका नाताले सहयोगको याचना गरेको बताएका छन् ।
‘हामीलाई आशा छ, भारतले हामीलाई निराश पार्नेछैन,’ भिडियोमा हिन्दी भाषामा भनिएको छ, नेपाल र भारतबीच राम्रो सम्बन्ध छ,त्यसैले हामी तपाईंहरुसँग मद्धत माग्न चाहन्छौं ।’
उनीहरुले भनेका छन्, ‘हामीहरुमाथि धोका भयो, हेल्परमा भनेर ल्याएर युद्धमा पठाइयो ।’ आफूहरु ३० जना रहेकामा अहिले ५ जनामात्र बाँकी रहेको, कोहीलाई अन्यत्रै पठाइएको र केही घाइते भएको उनीहरुले जनाएका छन्।
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार गर्न उनीहरुका आफन्तहरुले लामो समयदेखि सरकारलाई आग्रह गरे पनि नेपाल असफल भइरहेको छ । रुसमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन भने केही दिनअघि नवननियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी राजदूतसँग यसबारे छलफल गरेका थिए ।