Mero Chitwan
सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपतिका दुवै छोरामाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरु  जितेन्द्र पुन र दिपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुुँवरलाई सुन तस्करी प्रकरणमा संलग्न पुनद्वयलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन् । पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रले चिनियाँ कारोबारीबाट तमसुक गरी चार वर्षअघि अवैध सुन ल्याएको प्रमाणसहितको समाचार आइतबार कान्तिपुरले प्रकाशन गरेपछि गृहमन्त्रीले निर्देशन दिएका हुन्।

उनले घटनाको गम्भीर अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

'घटनाको प्रतिवादी आदेशले होइन प्रमाणले बनाउनुस्' 
लामिछानेले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे । 

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन पनि निर्देशन दिए । 

grihamantri-1710089348.jpg

“कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ;” उनले भने । 

गृहमन्त्री लामिछानेले कर्मचारीको सरूवा, बढुवा तथा वृत्ति विकासका लागि आवश्यक नीति र योजना बनाएर ल्याउन आग्रह गरे । मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि आग्रह गरे । 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update