Mero Chitwan
युक्रेन र मोल्डोभालाई सदस्यता दिन वार्ता सुरु गर्ने इयूको निर्णय

ब्रसेल्स-युरोपेली संघ (ईयू) का नेताहरूले युक्रेन र मोल्डोभालाई समूहको सदस्यता प्रदान गर्न वार्ता सुरु गर्ने निर्णय गरेका छन्। यसबाहेक ईयूले जर्जियाको ‘उम्मेदवारी’ स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ब्रसेल्समा भएको शिखर सम्मेलनमा लिइएको यो निर्णयलाई युक्रेन र युरोप दुवैको ‘विजय’ भनेका छन् । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलका प्रवक्ताले यो सर्वसम्मत सहमति भएको बताएका छन्।

यद्यपि हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ, तर उसले यो निर्णयलाई भिटो गरेको छैन।

मतदानका क्रममा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान केही समयका लागि कक्षबाट बाहिरिएका थिए भने युरोपेली संघका बाँकी २६ देशका नेताहरूले मतदान गरेका थिए । यसपछि फेसबुकमा राखिएको भिडियो सन्देशमा उनले भने, "युक्रेनको युरोपेली संघको सदस्यता नराम्रो निर्णय हो। हंगेरीले यो नराम्रो निर्णयमा भाग लिन चाहँदैन, त्यसैले आज यो निर्णयबाट टाढा रह्यो।"

यसअघि सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि युक्रेन, मोल्डोभा र जर्जियाले युरोपेली संघमा सामेल हुन आवेदन दिएका थिए । त्यसपछि, जुन २०२२ मा, युक्रेन र मोल्डोभाको उम्मेदवारी कायम गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update