सधैं बिदाबाहेकका दिनमा राख्ने गरिएका विगतमा गाउँले सभा कार्यक्रममा म छुट्ने गरेको थिएँ । यसपालि चौध गते शनिवार र पन्ध्र गते तामाङ ह्लाेसारले गर्दा दुई दिन विदा परेको हुनाले गाउँले सभाको कार्यक्रम शनिवार नै राखिएकाे थियाे । मलाई पनि त्यस सभाका आयोजकमध्येका एकले निमन्त्रणा गरेका थिए ।
यसपालि नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने भएकाले गाउँले सभाका सदस्यहरूलाई अनिवार्य निमन्त्रणा गरिएको थियो । गीत सङ्गीत,विचार विमर्शले सभाको कार्यक्रम निकै रोचक बनेको थियो । विकास योजना युवा परिचालनजस्ता आकर्षण कार्यक्रमले हाम्रो गाउँमा दिशा रुपान्तरणतर्फ गतिशील हुँदै छ जस्तो लाग्थ्यो । पहिलो बन्द सत्र सकिएपछि उद्घोषकले नयाँ बन्द सत्रको आह्वान गरेपछि कार्यक्रमा रौनकता थपिएको थियो ।
मैले केही वर्षअघि गाउँले सभाकाे नयाँ कार्यसमितिमा बस्ने मानिसहरूको तछाडमछाड देखेको थिएँ । मेरो अपेक्षा पनि त्यही थियो तर त्यसो हुने छनक देखेको थिइनँ । बन्द सत्रका सभापतिले नयाँ कार्यसमितिको नाम प्रस्तावमा ल्याएका थिए । अध्यक्ष,उपाध्यक्ष,सचिव कोषाध्यक्ष,सदस्य आदि आदि ।
'आदरणीय दाजुभाइ, दिदीबहिनीहरू आफूले नयाँ पिँढीलाई पालो दिन कार्यसमितिको अध्यक्ष पदमा नबस्ने कुरा जानकारी गराउँद छु,' प्रस्तावित नामको अध्यक्ष भन्दै थिए ।
त्यस्तै अर्का उपाध्यक्षका प्रत्यासीको कुरा पनि यस्तै थियो,'मैले धेरै वर्ष समाज सेवा गरेको र अब काम कतै पनि नगरी बस्ने निर्णय गरेको छु ।'
त्यसैगरी अन्यका कुरा पनि यस्तै यस्तै थिए । अरु कसैको नाम स्वीकृत हुन नसकेपछि एकजना समाजसेवी बाले दु:ख मनाउ गर्दै भन्नुभयाे, 'खै के हुन लाग्यो; कोही पनि नबस्ने पो भए त।'
ती बुढा बा मेरो नाम लिँदै भन्नुभयो, 'आजको गाउँले सभाका लागि एक पुराना शिक्षक रवि सरको नाम अध्यक्ष पदको रूपमा लिन चाहन्छु ।' .
अरु कसैको नाम पास हुन नसकेपछि मैले गाउँ सभाका अध्यक्षको नाम स्वीकार गरेँ । माटो छोएर प्रण गरेँ र भनेँ 'यो गाउँको आस्था र सम्मानलाई डगमगाउन दिने छैन ।' तालीको गडगडाहटले हल थर्किरहेको थियो । पछि थाहा भो जोजाे मानिसहरू अघिल्लो पटक गाउँ सभामाको पदमा बस्न नपाएको भनी सभा नै दुई दिन लम्ब्याउने काम गरेका थिए । अहिले जसले गाउँ सभामा बस्न अस्वीकार गरे, सबैको भिसा अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिकाका लागि लागिसकेको थियो ।
रत्ननगर-१४,चितवन