Mero Chitwan
किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी नाफामा, तर कसरी ?

काठमाडौं- दूग्ध विकास संस्थान डीडीसीले किसानकाे करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ ।  तर संस्थान चालु आर्थिक वर्षमा नाफामा देखिएको छ । 

तर यो नाफा अहिले नगदमा देखाइएको छैन । यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिएको तर त्यो नगदका रूपमा हात नपरेको डीडीसीको भनाइ छ । मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने डीडीसीका अधिकारीहरुको भनाइ छ ।

हाल डीडीसीसँग एक अर्ब १० रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ, जसमा ८५० मेट्रिक टन धुलो दुध, ७५० मेट्रिक टन बटर छन् । किसानबाट खरिद गरिए पनि त्यो बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको  र दुग्धजन्य पदार्थ बिक्री भए भुक्तानीका लागि केही समस्या नहुने बताइएको छ । 

किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलिय ऋण उपलब्ध गराएको छ । 

नाफामा जानुको मुख्य कारणमा दुधमा आएको गुणस्तरमा सुधार नै रहेको  डीडीसीका महाप्रबन्धक सञ्जीव झाको दाबी छ । “पहिला किसानसँग दुध लिँदा एसएनएफ ७.५ प्रतिशत मात्र हुन्थ्यो, त्यसमा त्यसलाई आठ प्रतिशत बनाउनका लागि थप धुलो दुध (एसएमपी) मिसाउनु पर्थ्यो, अहिले किसानले नै आठ प्रतिशत एसएनएफ भएको दुध दिन थालेपछि एसएमपी मिसाउन नपरेका कारण खर्च घटेको छ ।”

दुधमा थप एसएपपी मिसाउँदा वार्षिक १५ करोड रुपियाँ खर्च हुन्थ्यो तर अहिले त्यो शून्यमा झरेको छ । एसएमपीमा लाग्ने खर्च बचत हुनुका साथै अन्य उत्पादन खर्चमा पनि नियन्त्रण गरी खर्च कटौती गरिएको उनले बताए । अहिले १२ प्रतिशतले दुध तथा दुग्ध पदार्थ बिक्रीमा वृद्धि भएको छ । प्रशोधन, ढुवानी, वितरण, प्रशासनिक खर्चमा पनि नियन्त्रण गरिएको बताउँदै उनले दुधको गुणस्तरमा आएको सुधारले नै डिडिसी नाफामा गएको बताए ।  मापदण्ड अनुसार उपभोक्तालाई तीन प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफ भएको दुध दिनुपर्ने हुन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update