काठमाडौं : आज महाशिवरात्रि पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउने गरिन्छ ।
आज बिहानैदेखि देशभरिका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरिएको जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिने जनाएका छन् । उनीहरु फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।
यस्तै, गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ४० लाख खर्च हुने जनाएको छ । संस्थानका अध्यक्ष डा शिवराज पण्डितले गुठीको करिब रु १५ करोड बजेटमध्ये महाशिवरात्रिमा प्रत्येक वर्ष करिब ४० लाख खर्च हुने गरेको बताए ।
देशभरका राज गुठीअन्तर्गत करिब दुई हजार तीन सय गुठीमध्ये सात सय १७ देवस्थलहरुको साविक परम्परा बमोजिमका पर्व, पूजा, जात्रा, लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको सञ्चालन व्यवस्थापनको जिम्मेवारी संस्थानले गर्दै आएको छ ।
संस्थानले साधु सन्त महन्त, पुजारी, सुरक्षा निकाय पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा रहेका साधुसन्तका लागि ४९ हजार किलो र कालमोचन क्षेत्रमा रहेका साधु सन्तका लागि तीन हजार किलो दाउरा खरिद, उनीहरुको भोजनको प्रबन्ध तथा धुनीका लागि स्थान व्यवस्थापन लगायतका काम गरिएको जनाएको छ ।
महाशिवरात्रि पर्व सञ्चालन तथा व्यवस्थापनका लागि मूल समिति गठन गरी पशुपति क्षेत्रमा जनशक्ति खटाइएको छ । साधु, सन्त महन्तलाई शिवरात्रि अवधिभर विभिन्न स्थानमा धुनी ताप्ने दाउरा, भोजन, जलपानको व्यवस्था गरिएको संस्थानले जनाएको छ ।