Mero Chitwan
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे

चितवन-चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेले '२०७४ को संसदीय चुनावमा आफू पराजित हुनु माडीका लागि ठूलो घाटा' भएको बताएका छन् ।  

 माडीको बरुवामा आयोजित चौथो महाशिवरात्री मेलाको उद्घाटन कार्यक्रममा राप्रपा केन्द्रीय उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले यस्तो बताएका हुन् । आफूले 'माडीलाई सुनको थालीको रुपमा विकास गर्न खोजेको' तथा 'रिउ करिडोर, माडी चक्रपथ र नगर बस सञ्चालनको योजना आफूले नै ल्याएको' दाबी गर्दै उनले २०७४ को पराजयलाई माडीको दुर्भाग्यका रुपमा चित्रण गरेका हुन् । 

उनले 'देश वृद्धाश्रममा परिणत हुन लागेको' र गणतन्त्र ल्याएका 'ठूला माछाहरुले देश कंगाल बनाएको' आरोप लगाए । 'नेताहरु देशको विकास भन्दापनि आफ्नो स्वार्थपूर्ति र सरकार फेरबदलमा लागेको' भन्दै सांसद पाण्डेले हालको सत्ताधारी गठबन्धनबाट देशको हित नहुने बताए । 

मेलाका संयोजक रामप्रसाद महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोसहित माडीका जनप्रतिनिधि र सामाजिक राजनैतिक अगुवाहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update