Mero Chitwan
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
तस्विर - एआई

इलाम- बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । 

अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन्य दुई जनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख १६ र जेठ २९ मा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए । विसं २०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुष्टि गरेको थियो । घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो ।

 गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्यूक्लिक एसिड (डिएनए) विधिविज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ । 

  अदालतले यही फागुन १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो । फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ । घटनाका थप दुई आरोपी भने बालिकामाथि करणी गरेको पुष्टि नभएपछि सफाइ पाएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update