काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
आज संसद्मा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् । प्रधानमन्त्री दाहालले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी दिएका हुन् ।
त्यस्तै प्रधानमन्त्री दाहालले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए ।
प्रधानमन्त्री दाहालले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए ।
दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेकाले नयाँ सत्ता गठबन्धन बनाउनु परेको पनि बताए । 'महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो' प्रधानमन्त्री दाहालले भने,'माओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।
उनले आफ्नो लक्ष्य सत्ता नभइ सुशासन र समृद्धि रहेको बताए । 'मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ,' प्रधानमन्त्री दाहालले भने,'त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।'