
काठमाडौँ : नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।
नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।
एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बनेका छन् ।
यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका छन्।
रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रिमण्डलमा दुई जना मन्त्री सहभागी भएका छन्। पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढाले सपथ लिएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बनेका छन्।