
काठमाडौं : सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ । आज बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताको बैठकले मन्त्रालयको टुंगो लगाएको हो ।
जसअनुसार एमालेलाई ८, माओवादीलाई ५ र रास्वपालाई ४, जसपालाई २ मन्त्रालय दिइनेछ । बाँकी अन्य मन्त्रालय साना दललाई दिइनेछ
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको मन्त्रालयमा जाने मन्त्रीहरूको नामावली टुंग्याएको छ । रास्वापा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हो ।
सत्ता गठबन्धनको भागवण्डमा रास्वपाले उपप्रधान सहित ४ मन्त्रालय पाउने सहमति भएसँगै रास्वपाले मन्त्रीहरूको नामावली पनि टुंग्याएको छ ।
सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्रालयमा जाने भएका छन् । यस्तै श्रम तथा रोजगार मन्त्रालयमा उपसभापति डीपी आर्यल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने रास्वपाले निर्णय गरेको छ ।
एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ ।
उनी यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् । गृह र अर्थ मन्त्रालय एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना थियो । तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक योजना लिएर रघुविरलाई पठाउने निर्णय गरेको हो ।
माओवादीबाट वर्षमान पुन अर्थमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्टमन्त्री बन्ने भएका छन् ।