Mero Chitwan
माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ?

चितवन- माडी नगरपालिकाका स्थानीय एवं सरोकारवालाहरुले नगरप्रमुख र कार्यपालिकासमक्ष विकास निर्माण एवं सेवा प्रवाहका दर्जनौं गुनासा एवं सुझाव प्रस्तुत गरेका छन् । स्वदेश एफ.एम.को सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा उनीहरुले सुझाव तथा गुनासा राखेका हुन् । 

कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले योगा, रक्तदान र ट्राफिक सचेतनामा ध्यान दिनुपर्ने, बाहिरबाट आई नगर क्षेत्रमा लगानी गरेकालाई सम्मान गर्नुपर्ने, स्वास्थ्य वीमा एवं अन्य अनुदान पाएकाहरुको नाम सार्वजनिक हुनुपर्ने, विद्यालय वरपर १०० मिटरसम्म सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्ने निर्णय कार्यान्वयन हुनुपर्नेलगायतका सुझाव दिएका थिए ।

यस्तै घर निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधि सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अलपत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने बताएका थिए ।

त्यसैगरी बजार अनुगमन नियमित हुनुपर्ने, गोपालनगरस्थित शव जलाउने घाट पुग्ने स्थानमा पुल निर्माण हुनुपर्ने, किसानहरुलाई अनुदानको सट्टा पुरस्कारको व्यवस्था गर्नुपर्ने, राजश्व संकलन र योजना कार्यान्वयन सन्तोषजनक नरहेको, कतिपय योजनाहरुको भुक्तान पाउन बाँकी रहेको, नगर क्षेत्रमा हाटबजार सञ्चालन हुनुपर्ने, सिधुवाको पार्क निर्माण पुरा हुनुपर्ने, मगोई, परुई लगायतका पुलहरुको निर्माण पुरा गर्न दबाब दिनुपर्ने, काम नगर्ने ठेकदारहरुलाई कारवाही हुनुपर्ने लगायतका प्रश्न समेत राखेका थिए ।

यसबाहेक भरतपुर महानगरसंग कायम भएको भगिनी सम्बन्धबाट फाइदा लिन सक्नुपर्ने, नगरको पर्यटन विकासका लागि डिजिटल बोर्ड राखिनुपर्ने, निकुञ्जभित्र बिजुलीको भूमिगत केबुल राख्ने काम छिटोछरितो हुनुपर्ने, जनप्रतिनिधिहरुबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने, कृषि र कृषकहरुले उचित मलबीउ पाउन नसकेको, ट्रयाक्टर सेवा महंगो भएको, सार्वजनिक बसहरुले बृद्धबृद्धाहरुलाई सेवा दिन नखोज्ने गरेको  गुनासा राखेका थिए ।

सहभागी नगरबासी एवं दलीय प्रतिनिधिहरुको सवाल र सुझावहरुलाई नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जवाफ दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update