काठमाडौं । त्रिकोणत्मक टी-ट्वेन्टी आई सिरिजको उपाधिका लागि आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।
नेदरल्याण्ड्स चार खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपाल चार खेलमा चार अंकसहित दोस्रो स्थानमा रह्यो । वर्षाका कारण नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल रद्द भएको थियो । जारी प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुन लागेका हुन् ।
लिगको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १ सय ८४ रन बनाएको थियो । जवाफमा नेपालले १ सय ८२ रन मात्र बनाउन सक्यो । दोस्रो खेलमा भने नेपालले डच टोलीलाई १ सय २० रनमा अल आउट गर्दै ६ विकेटको जित निकालेको थियो ।
दुवै खेलमा नेपालका ओपनर कुशल भुर्तेल चल्न सकेनन् । पहिलो खेलमा डक आउट भएका उनी दोस्रोमा १२ रनमा मैदान बाहिरिएका थिए । नेपालले तीन साताअघि घरेलु मैदानमा नै क्यानडा विरुद्ध तीन खेलको ओडीआई सिरिज क्लिन स्विप गरेको थियो ।
नेदरल्याण्ड्समाथि जित हात पार्दै त्रिकोणात्मक टी ट्वेन्टी आई सिरिज पनि आफ्नो नाममा लेखाउने नेपालको लक्ष्य छ । सन् २०२१, अप्रिल २४ मा नेपाल टीयू मैदानमा नै नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेर त्रिकोणात्मक टी- ट्वेन्टी आई सिरिज च्याम्पियन बनेको थियो । सो खेलमा २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ९२ रनमा अल आउट भएको थियो ।
आजको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । नेपाल क्रिकेट संघ क्यानले यो खेलका लागि १२ हजार टिकट बिक्री गरेको छ ।