Mero Chitwan
शालिन पोखरेल मृत्यु घटना : पक्राउ परेका ३ जना थप चार दिन हिरासतमा 

चितवन-चितवनको रत्ननगर–१०, स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको ८ कक्षामा अध्ययनरत बालिका शालिन पोखरेल मृत फेला परेको प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

पहिलोपटक थपिएको ७ दिनको म्याद आज सकिएपछि प्रहरीले अदालतमा पेश गरेको थियो । अदालतले अनुसन्धानका लागि पुनः ४ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शालिन पोखरेल विद्यालयको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको थिइन् ।

आफन्तले बलात्कारपछि हत्या भएको आरोप लगाएका थिए । आफन्तले किटानी जाहेरी दिए पछि फागुन १५ गते विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। 

पोष्टमार्टम रिपोर्टले भने उनको मृत्यु ह्या‌गिङका कारण भएको जनाएको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update