Mero Chitwan
शालिन पोखरेल मृत्यु  घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न आयोगको माग

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया  शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

 आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

  चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालिन पोखरेलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको जनाएको छ ।

  यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update