काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको एक वर्ष लामो गठबन्धन तोडेका छन् ।
दाहालले एमाले, जनता समाजवादी पार्टी, स्वतन्त्र पार्टीलाई समेट्दै नयाँ गठबन्धन बनाएपछि कांग्रेससँगको सहकार्य तोडिएको हो । यससँगै दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एमाले, माओवादी केन्द्र र स्वतन्त्र पार्टीका ३ नेतालाई उनले विनाविभागीय मन्त्री बनाएका छन् । दाहालको सिफारिसमा मन्त्री नियुक्त भएका उनीहरुलाई राष्ट्रपतिले आज पद तथा गोपनीयताको शपथ गराएका छन्।
एमालेका पदम गिरी, माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डोलप्रसाद अर्यालले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उहाँहरुको कार्यभार पछि तोकिनेछ ।
प्रधानमन्त्रीको सिफारिसमा आज गठन भएको मन्त्रिपरिषद् र त्यसको कार्यविभाजनअनुसार प्रधानमन्त्री दाहालले सबै मन्त्रालयको कार्यभार सम्हालेका छन् ।