Mero Chitwan
‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ । 

सहिद प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित सहिद सप्ताहको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रतिष्ठानले आज सप्ताहको अवसरमा ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । 

धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको उहाँले बताउनुभयो । परिस्थितिलाई ध्यान दिंदै आफूले कदम चाल्नेगरेको र प्रतिक्रियावादीहरु आफूलाई घेराबन्दी गरेकै दिन लात्ती हानेर आफू बाहिरिनेगरेको उहाँको भनाइ छ । 

कम्यु्निष्ट शक्तिहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा पटक–पटक समस्यामा पर्नेगरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज नयाँ क्रमभङ्गको दिन बनेको छ, सहिदको सपना पूरा गर्ने संकल्प लिने दिन भएकाले सबै शक्तिहरु एक ठाउँमा आउनुको विकल्प छैन ।”

आफूहरुले बृहत कम्युनिष्ट एकताको पहल गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई तयार रहन आग्रह गर्नुभयो । शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो संकल्प पूरा गरेर छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको उहाँले बताउनुभयो । सशस्त्र युद्ध सुरुभएदेखि हजारौं सहिद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई सहिद घोषणाको काम जारी रहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update