Mero Chitwan
रवि लामिछाने र हरि ढकाल भन्छन्–शालिन मृत्युको निष्पक्ष अनुसन्धानका लागि खबरदारी गरिरहेका छौं 

चितवन–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चितवन १ का सांसद हरि ढकालले शालिन पोखरेलको मृत्यु प्रकरणबारे  निष्पक्ष ढंगले अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

उनीहरुले छुट्टाछुट्टै रुपमा आफ्ना धारणा सार्वजनिक गर्दै समयसीमा नकटाई पोस्टमार्टमको वास्तविक रिपोर्ट सार्वजनिक गर्न र यो घटनामा कोही दोषी देखिएमा कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

‘यसबीचमा म निरन्तर मृतक बालिकाको परिवार र प्रहरी प्रशासनसंग सम्पर्कमा नै रहेको र घटनाको निष्पक्ष छानबिनका लागि प्रशासनलाई बारम्बार खबरदारी गरेको कुरासमेत अबगत गराउन चाहन्छु। मैले प्राप्त गरेको जानकारी अनुसार पोष्टमार्टम रिपोर्ट भोलि आइतबारसम्म आउनेछ,’ सांसद ढकालले भनेका छन् । 

सांसद ढकालले सामाजिक संजालमा घट्नालाई अतिरन्जित गराउने खालका पोस्ट नगर्न र सामाजिक सद्भाव कायम राख्न पनि सबैमा अपिल गरेका छन्। 

सभापति लामिछानेले पनि घटनाको दोस्रो दिन आफूले शालिनका बुबासँग कुरा गरेको र केही दिनदेखि निरन्तर संवादमै रहेको उल्लेख गरेका छन्। उनले अनुसन्धानका बारेमा प्रहरीबाट अपडेट लिईहेको र चितवनमा संचारकर्मीहरु सँगको कुराकानीमा यसबारे स्पष्ट धारणा राखिसकेको बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update