चितवन-प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।
‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन गर्ने बताए ।
विशिष्ट पाहुनाबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा सिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै दाहालले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । “यी सबै आधारले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ,” उनले भने ।
पछिल्लो सात वर्षमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । प्रधानमन्त्रीले गौरवका आयोजना चक्रपथ, छ लेनको सडक, तटबन्धन, सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । भरतपुरले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने उनको भनाइ छ ।
“विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका हो”, प्रधानमन्त्री दाहालले भने, “कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, सङ्ग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधार छन् ।”
चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवद्र्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।”
अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृङ्खलाको दृश्यावलोकन एवं समथर तराईको भू-भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ऐतिहासिकस्थल, गढी, दरबार, सङ्ग्रहालय, पार्क, धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्य रहेको बताए ।
पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको यो कदमको उनले प्रशंसा गरे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरिएको बताए ।