Mero Chitwan
युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपाली सकुशल

काठमाडौं । युक्रेनी सेनाको कब्जामा रहेको पाँच नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुलाई स्वदेश फर्काउने पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनको कब्जामा परेका पाँच नेपालीलाई युक्रेन सरकारका प्रतिनिधिले एकै ठाउँमा राखेर बयान लिएको जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा पुगेका भर्ना भएका काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, बर्दियाका विवेक खत्री, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका थिए ।

युक्रेनका सरकारी प्रतिनिधिले पाँचै जनालाई एकै स्थानमा राखेर बयान लिइएको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर जानकारी दिएका हुन् । बयानका क्रममा पाँचै जनाले युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गरेका थिए ।

उनीहरुलाई फिर्ता ल्याउने विषयमा जर्मनीस्थित नेपाली दूतावासमार्फत पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update