Mero Chitwan
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण 

काठमाडौं–माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले यही २५ मंसिरमा प्रेस सेन्टरले गरेको कार्यक्रममा भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने, के के भन्ने त रातदिन एकथरिको खेल, कसरत भइ नै रहेको छ । तर मैले हेर्दा र गठबन्धनका बैठकहरू सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’

त्यसअघि विश्व जलवायु सम्मेलनबाट फर्कंदा पनि त्रिभुवन विमानस्थलमा उनले भनेका थिए, ‘नयाँ सरकार गठनको तयारी भन्ने कुरा हल्लामात्र हो ।’

तर, यी चार घटना हेरौं

१. प्रेस सेन्टरको कार्यक्रम भएकै दिन प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएको सार्वजनिक भयो । २० मंसिरमा गजुरेलले दिएको दाहालले राजीनामा स्वीकृत गरिनसके पनि त्यसको भोलिपल्ट गजुरेलले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भने, ‘सरकार असफल हुने देखेपछि राजीनामा दिएँ ।’

गत निर्वाचनमा सिन्धुलीबाट टिकट खोसेर लेखनाथ दाहाललाई दिइएपछि असन्तुष्ट बनेका गजुरेललाई दाहालले राजनीतिक सल्लाहकारमा ल्याएर थुम्थुम्याएका थिए । तर, अहिले गजुरेलको राजीनामाले दाहाल संंकटमा रहेको संकेत गर्ने विश्लेषकहरुको भनाइ छ । 

२. सरकारको कामप्रति अहिले सत्ता साझेदार दल जनता समाजवादी पार्टी असन्तुष्ट छ । जसपा अध्यक्ष उपेन्द्र यादव र प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीबीच हालै भेटवार्ता भएको सार्वजनिक भएको थियो । भेटमा के छलफल या सहमति भएको थियो भन्ने स्पष्ट भइनसके पनि त्यो घटनाक्रमले पनि अहिले दाहाललाई सशंकित बनाएको छ ।  अझ यसमा बल थप्दै यादवले सत्ता गठबन्धनलाई ५३ बुँदे सुझाव बुझाएका छन् । जसमा संविधान संशोधनका लागि आयोग गठनदेखि प्रदेशलाई क्षेत्राधिकारका विषय उठाइएका छन् । यादवले उठाएका संविधान संशोधनका माग पूरा गर्न दाहाल र गठबन्धन तत्काललाई तयार हुने देखिन्न । यसले पनि सरकारमाथि संकट थप्ने देखिन्छ । 

३. सत्ता सहयात्री प्रमुख दल नेपाली कांग्रेसकै शीर्ष नेताहरुले नै सरकारको नेतृत्वका विषयमा प्रश्न उठाउन थालेका छन् । खासगरी,  महामन्त्री गगन थापा र शेखर कोइराला पक्षले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएको छ । यही विषयमा संस्थापन इतरपक्षले सभापति शेरबहादुर देउवालाई दबाब बढाइरहेको छ । प्रमुख दलमा उठेको यो आवाजले देउवा दबाबमा पर्ने आशंका पनि दाहाललाई छ । 

४. आफ्नै दल माओवादी केन्द्रभित्र पनि संगठन अस्तव्यस्त बनेको भन्दै दाहालको आलोचना हुने गरेको छ । पु्स १५ सम्म लम्बिएको ३ महिने विशेष रुपान्तरण अभियान प्रभावकारी हुन सकेको छैन भने विधान अधिवेशन र विशेष महाधिवेशन पनि अनिश्चित छ । दाहाल आफैं बसेर निर्णय गरेको गत वैशाख १ देखि नै पार्टी कार्यालयमा उपस्थित हुने कार्यतालिका पनि कार्यान्वयन गर्न सकेका छैनन् । माओवादी घटकलाई एक ठाउँमा उभ्याउने भनिए पनि एकताको आधार तयार हुन सकेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update