चितवन- भरतपुर भ्रमण वर्ष २०२४ आजदेखि सुरु हुँदैछ । भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालले मध्याह्न १ बजे एक समारोहबीच उद्घाटन गर्दैछन् ।
उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी हुनेछन् । उच्च पदस्थ व्यक्तिहरुको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् ।
झाँकी तथा र्यालीका लागि भरतपुरका विभिन्न स्थानमा रुट तय गरिएको छ ।