Mero Chitwan
साठी वर्षे केटाको नमन  

आज फागुन २३ अर्थात् मार्च ६ तारिख । मेरो जन्मदिन । कुनै वर्ष यो दुवै मिति एकैदिन पर्छ भने कुनै वर्ष तलमाथि पर्छ । यसपटक भने संयोगले दुवै मिति एकैदिन परेको छ । जेहोस् आजदेखि औपचारिक रुपमा उनन्साठी वर्ष पुरा गरेर साठी वर्ष आगमन भएको छ । भनिन्छ, तीनबिस हिउँदमा पाइला टेकेपछि बुढ्यौली उमेर सुरु हुन्छ । यसरी बुढ्यौली उमेरको अनुभव गर्न रोग, शोक र अभावबाट ग्रस्त व्यक्तिहरूले भने यति विघ्न धेरै उमेर कुर्नु पर्दैन । तीनबिस उमेर नपुग्दै मजाले बुढ्यौली उमेरको स्वाद चाख्न पाइन्छ ।

यसैबीच विगत वर्षहरूमा निकै उतारचढावहरू भए । जीवनमा कहिले पतझडको मौसम आयो, फेरि नयाँ पातहरू पलाए । कहिले  बाह्र वर्षको ज्वरो फुट्ने गरि वर्षादको झरीले चुटे झैँ जिन्दगीले पनि चुट्नुसम्म चुट्यो । ग्रीष्मको खडेरीले आकुल व्याकुल बनाए झैँ जिन्दगीले पनि त्यस्तै बनाइदियो । सम्झना आउँदा अहिले पनि जीउबाट पसिना निस्कन थाल्छ । जब केही पुराना सम्झनाहरू आउँछन्, जीउ फतक्क गल्न थाल्छ । औडाहा हुन्छ । बसिरहेको स्थान पनि भासिए झैं  लाग्छ, फनफन्ती रिँगटा लागेर आँउछ । केही समय अत्याएर  मनभित्र शान्तसँग थन्किएको भय र त्रास पुन: एकपटक जुर्मुराए झैँ लाग्छ । मन भारी भएर आउँछ । अपितु अतीतमा सबै दु:खदायी घटनाहरू मात्र घटेका थिएनन् , यदाकदा मन प्रसन्न भएर फुरुङ्ग हुने केही सुखद घटना पनि नघटेका होइनन् । जीवनको यात्रामा पटक पटक रोमाञ्चकारी समय पनि आयो । 

जीवन यात्राको सिलसिलामा म कहिलेकाहीं टक्क रोकिएर पछाडि हेर्छु । सबै कुरा सिनेमाको दृश्यमा जस्तै देखिन्छन् । लाग्छ, मेरो जीवन कथाबाट पनि एउटा पूर्ण सिनेमा बनिसकेको छ ।

पढाइ सकिनासाथ लोकसेवा आयोगको परीक्षामा नाम निकालेर सरकारी जागिरमा स्थायी हुन पाइयो । जागिर गरेको पुगनपुग तीनवर्ष भित्र अध्ययन भ्रमणका लागि फिलिपिन्स, थाइल्याण्ड र हङ्कङ जाने अवसर प्राप्त भयो । त्यसताका एउटा सामान्य कर्मचारीका लागि यस्तो अवसर पाउनु कम्ती खुशीको विषय हुँदैन थियो । प्राविधिक पदमा  सेवा प्रवेश गरेेर,  दुई-दुई पटक पदोन्नती हुने अवसर प्राप्त भयो । त्यसबेलाको जोश जाँगर सम्झँदा अहिले पनि शरीरमा नजानिदो गरेर स्फूर्ति आए जस्तो लाग्छ । मान्छेको जीवनमा बिहे गर्दाको खुशी र सन्तान प्राप्त हुँदाको प्रसन्नता अवश्य पनि चानचुने कुरा हुँदैनन् । यस बाहेक पनि जीवनले अनगिन्ती झिनोमसिनो खुशीहरू नदिएको होइन, प्रसस्त खुशीहरू दिएको छ । 

जीवन यात्राको सिलसिलामा म कहिलेकाहीं टक्क रोकिएर पछाडि हेर्छु । सबै कुरा सिनेमाको दृश्यमा जस्तै देखिन्छन् । लाग्छ, मेरो जीवन कथाबाट पनि एउटा पूर्ण सिनेमा बनि सकेको छ । एउटा सिनेमाको दृश्यमा समेटिनुपर्ने कथावस्तु मेरो जीवनमा पनि पूर्णरूपमा समावेश छन् । आँसु हाँसो, सुख दुःख, मनोरञ्जन, पीडा, मिलन बिछोड सबै प्रकारका विषय मेरो जीवनमा समावेस भइसकेका छन् । आखिर एउटा चलचित्र निर्माणका क्रममा पनि यिनै विषय त समावेश हुने हुन् ! फरक यतिमात्र हो, मेरो विषयमा सिनेमा बनेको छैन । सायद कुनै दिन पनि बन्दैन र बन्ने कुरा पनि भएन  ।

dai-photo1-1709659157.jpg

म जीवनलाई विगत देखि वर्तमानसम्म केलाएर हेरिरहेको छु । विशेष गरेर वाल्यकालमा पुग्दा त्यहाँ निकै बेर उभिन मनलाग्छ । जुन उमेरमा निश्चिन्त भएर खेल्न र डुल्न पाइन्थ्यो । प्रायः अधिकांश समय नाच्दै, गाउँदै र उफ्रदै हिँड्न पाइन्थ्यो । भोक लागे खाना र प्यास लागे पानी पाइन्थ्यो । न कुनै जिम्मेवारी थियो , न कतैबाट दवाब आउँथ्यो ! न बित्यो भन्ने चिन्ता थियो, न बिग्रियो भन्ने चिन्ता ! जिम्मेवारी र बोझबाट मुक्त अवस्था साँच्चै गजबको हुनेरहेछ  । त्यसबेला होइन आज आएर अनुभव गरेको छु ।‌

युवावस्थाको चुनौती, जसले मलाई बाँच्न प्रेरणा दियो । प्रौढावस्थाको बाध्यता र वृद्धावस्थाको जिम्मेवारीमुक्त शान्ति । आहा, जीवन साँच्चिनै कति सुन्दर छ । म यी सबैलाई एक अर्कासँग तुलना गर्छु । जीवनका सबैभन्दा सुन्दर पक्षहरू यिनै हुन् । जीवनको उत्तरार्द्धमा पुगेपछि बिस्तारै बुझ्न  थालेको छु । वास्तवमा जीवन भनेको यी सबै कुराको संयुक्त मिश्रण रहेछ, मौसमी मिश्रित तरकारी जस्तै । जसमा काउली, गाजर,आलु, पनिर, मुला , करेला सबैको मिश्रण हुन्छ ।

साँच्चै  भन्ने हो भने मान्छेको जीवनमा अँध्यारो आफ्नै मात्र हुन्छ, एकदम निजी । बाहिर जतिसुकै घाम लागेको किन नहोस् ! यी सबैको अनुभव नभएको जीवन के जीवन ?

कहिलेकाहीं लाग्छ, मान्छेको जीवन पनि ठ्याम्मै यस्तै रहेछ । कहिले मिठो र मन परेको टुक्रा फेला पर्छ । कहिले करेला जस्तै तितो टुक्रा फेला पर्छ । मिठो टुक्रा आउँदा जुरुक्क उठेर खुशीले नाच्ने हो भने पनि पाखे र गँवार भइन्छ । मन नपर्ने  टुक्रा फेला पार्दा झनक्क रिसाएर भान्सा छोडेर उठे पनि असभ्य बनिन्छ । मिठो होस् वा नमिठो आफ्नो भागमा परेको चाटीचुटी खाइसकेर मात्र उठ्नु पर्छ । आखिर जीवन पनि ठिक त्यस्तै रहेछ, अँध्यारो र उज्यालोको मिश्रण  । गुनासो नगरीकन सबै व्यहोरिदिए ढुक्कै हुने  ।

साँच्चै  भन्ने हो भने मान्छेको जीवनमा अँध्यारो आफ्नै मात्र हुन्छ, एकदम निजी । बाहिर जतिसुकै घाम लागेको किन नहोस् ! यी सबैको अनुभव नभएको जीवन के जीवन ? सबै मान्छेले जस्तै मैले पनि यिनै मिश्रित अनुभवहरू सँगालेको  छु । यिनै अनुभबबाट  थाहा पाएको छु, जीवनको वास्तविक स्वाद ।

यसैबीच जीवनको सबैभन्दा उर्वर उमेरमा सरकारी जागिरे बनियो  । सेवा निवृत्त भएपछि  सुखशान्ति र आनन्दसँग  परिवारको साथ रहने सोच प्रायः सबैको हुन्छ । मेरो पनि अधिकांश मान्छेको जस्तै सोच थियो  । फेरि मान्छेले सोचेका सबै कुरा पुरा हुन्छन् भन्ने पनि त छैन नि  ! अकस्मात् म  गम्भीर प्रकृतिको  मिर्गौला रोगले थलिएँ । उम्रन लागेका  कल्पनाका बीउहरू सदाका निम्ति थन्क्याएर डाइलायसिस र मिर्गौला प्रत्यारोपण जस्तो कठिन कार्यहरू पुरा गर्नुपर्ने अवस्था आयो । त्यसलाई पनि छेकबार त गरियो तर ती कार्य सहज रुपले सम्पन्न भएका भने थिएनन् । सम्झन्छु, त्यो निकै कठिन र क्रूर समय थियो । कुनैदिन अजङ्गको पहाडले थिचिरहे झैँ लाग्थ्यो । कहिले छङ्गाछुर भीरबाट एक्कासी खसेको अनुभूति हुन्थ्यो । त्यसपछिका दिनमा त्यही प्रत्यारोपित मिर्गौलाको स्याहारसुसारमा जीवन बिताइरहेको छु । जिन्दगीसँग कुनै गुनासो छैन, बरु निकै  उत्साहित बनेको छु । किनभने त्यस घटनाले मलाई कठिन परिस्थितीमा पनि बाँच्न सिकाएको छ । अनेकौं चुनौतीसँग जुध्न सिकाएको छ । 

यसरी अतीततर्फ फर्किएर हेर्दा केहीलाई छोडेर सारा जीवन असहज मात्र पनि थिएन । जीवनमा बसन्तको हरियाली र शरदको सुगन्ध  रसास्वादन गर्ने मौका नपाएको होइन, पटक पटक  पाइएको छ । तर केही दिनको कठाङ्ग्रिदो हेमन्तले ती सबै सुखद अनुभवलाई सर्लक्कै निलिदिने रहेछ, ओझेलमा पारिदिने रहेछ ।

मान्छेले विगतका उज्यालो र अँध्यारो  पक्ष पालैपालो सम्झने हो भने जीवन त्यति कठिन लाग्ने थिएन । दु:ख र पीडाको घाउ जति गहिरो भएपनि, सुखको मल्हम दलिदिए घाउ सजिलै पुरिन सक्थ्यो  । खै किन हो मान्छेले दु:खको घाउमा सुखको मल्हम दलेर टाल्ने कोशिस नै गर्दैन !  हरेक मान्छेले जीवनका सुखद क्षणलाई चटक्क बिर्सने गरेका कारण मान्छे अझ दु:खी हुनेगरेको छ ।  लाग्छ, जीवनमा उसले सुख पाएकै छैन , सबै दु:ख मात्र पाएको हो । किन हो, मान्छेलाई दु:ख पटक्कै मनपर्दैन ।  सारा मान्छेहरू सधैँ सुख र खुशी मात्र खोजीरहेका हुन्छन् । फेरि प्राप्त सुखहरू भने सबै बिर्सिन्छन् । दु:खलाई ठूलो र सुखलाई सानो ठान्ने, सायद मानवीय स्वभाव रहेछ । 

dai-photo-1709659270.jpg

ईश्वरले सबै मान्छेलाई जस्तै मलाई पनि यति विधि लुब्धो नबनाइदिएको भए कति जाती हुन्थ्यो । साँच्चै भन्ने हो भने, मानो र पाथी लिएर भरे पनि, तुलोमा जोखेर हेरे पनि समग्र जीवनमा दु:ख र सुख बराबर थियो जस्तो लाग्छ । तर मान्छेलाई  सुखसँग जीवन बिताएको क्षण भन्दा दु:खकै क्षण धेरै लाग्छ । त्यसैले घरी घरी मानसपटलमा सुखका  क्षण भन्दा दु:खका क्षणहरू नै आइरहने रहेछ । अतीतमा बिताएका सुखका पलहरू किन ओझेलमा पर्छन् ? मान्छेले किन सुखद क्षणलाई चटक्क बिर्सने गर्छ ? कहिलेकाहीं म यस्तै सोचाइमा हराउने गरेको छु ।

यसै बीच केही साहित्यिक कृतिहरूलाई जन्म दिन सकियो । निरन्तर साहित्यिक यात्रामा लागिरहँदा शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलालाई निरन्तररुपमा झुक्याएर अलमल्याउन सकिरहेको छु । जब मेरो मन र भावनाहरू कल्पनाको  गहिराइमा विचरण गरेपछि केही  सिर्जनाहरू तयार हुन्छन्, सर्वप्रथम त्यसलाई श्रवण गरेर मेरो शरीरका विभिन्न वाह्य र आन्तरिक अवयवहरूलाई सुनाउने गरेको छु । जतिबेला यी अङ्गहरूलाई म आफ्ना सिर्जना सुनाउँछु, लाग्छ यिनीहरू लठ्ठ परेर सुनिरहेका हुन्छन् । म स्वयम् अत्यन्त रोमाञ्चित हुन्छु । यसक्रममा सिर्जनाका तिनै स्वरहरू, शरीरको अतिथि मिर्गौलाले पनि सुनिरहेको हुन्छ । त्यसपछि ऊ आफू पाहुना मिर्गौला हो भन्ने समेत भुसुक्कै बिर्सिदिन्छ । अब भने म मख्ख  पर्छु । मन हलुका र प्रसन्न हुन्छ । आफू पूर्णरूपमा सफल भए जस्तो लाग्छ । तब जीवन यात्रा निकै सहज बनिरहे झैँ लाग्छ ।

"मर्ने बेलामा हरियो काँक्रो" भने झैँ उमेरले साठी वर्ष टेक्दै गर्दा पहिलेको तुलनामा अहिले जीवन प्रति उत्साह , काम प्रति लगन र साहित्य सिर्जना गरिरहने इच्छा झनै बढ्न थालेको छ । पत्नी कमलाको साथ, केटाकेटीको स्नेह र, साथीभाइको शुभकामनाका कारण अझै म भित्र प्रसस्त उर्जा थपिएको महसुस हुन्छ ।

 भनिन्छ,सपना देख्नको लागि उमेरको सीमा हुँदैन । त्यस कारण मैले अझै पनि केही मिठा सपनाहरू देखि रहने गरेको छु र अझै देख्न पाइयोस् भन्ने कामना गर्छु  । किनकि सपना भनेको सुन्दर र कल्पनाशील विचार हो । सपना कहिले पनि झुटो हुँदैन । हरेक सपनाको एउटा न एउटा अर्थ हुन्छ । 

तर थाहा छैन, आफ्नो भागमा परमात्माले भरिदिएको जीवनको सास कति  बाँकी छ ? तर जतिसुकै होस् मेरो मनभित्रको कल्पनालाई दिमागको मद्दतले हातसम्म ल्याइ कापीका पन्नाहरूमा पोखिरहन पाइयोस् । कोरेका सिर्जनाहरूलाई पुस्तकको आकार दिन सकियोस्  ।  जीवनको अन्तिम घडीसम्म सधैँ आफूले चढ्ने गरेको प्रिय सवारीसाधन, त्यही पुरानो साइकिलमा यात्रा गरिरहन पाउँ । जीवनको सबैभन्दा ठूलो अपेक्षा यही छ । उमेरले शरीर बुढो बनाइदिए पनि,मन बुढो बनाउन नसक्ने  रहेछ । सबै शुभचिन्तक हरूलाई यो साठी वर्षे  केटाको नमन छ, स्वीकार गर्नुहोला ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update