चितवन–दूधको भुक्तानी माग गर्दै घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत दुग्ध किसानहरुले आज देशैभर मु्ख्य राजमार्गहरुमा चक्काजाम गरेका छन् ।
किसानहरुले आज मकवानपुर, भक्तपुर, चितवन, काभ्रेलगायतका जिल्लामा प्रदर्शन गरेका हुन् । भक्तपुरका किसानले जगाती चोकमा भैंसीसहित प्रदर्शन गरे । दूधको अनुदान कायम गर्नुपर्ने, किसानको बाँकी रकम भुक्तानी पाउनुपर्ने तथा मिल्क होली डे अन्त्य हुनुपर्ने उनीहरुको माग छ ।
यस्तै, काभ्रेका दूध उत्पादक किसानले बनेपाको चारदोबाटोमा चक्काजाम गरी निःशुल्क दूध वितरण गरेका छन् ।
किसानहरुले दूधको भुक्तानी दिन अक्षम कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको राजीनामा समेत मागेका छन् । दूधको भुक्तानी नपाएको र गुणस्तरीय दूध बिक्रीमा समेत समस्या भएको भन्दै काभ्रेका किसानहरु आन्दोलनमा उत्रिएका हुन् । चितवनमा पनि किसानहरुले राजमार्गमा चक्काजाम गर्नुका साथै दूध पोखेर प्रदर्शन गरेका थिए ।
किसानहरुले फागुन १० देखि २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् । १४ र १५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने कार्यक्रम गरेका उनीहरुले आज मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काजाम गरेका हुन् । २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनीहरुले जनाएका छन् ।