काठमाडौं । नेपाल, वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले सेमिफाइनलमा लेबननमाथि २-१ गोलको जित हात पारेको हो ।
साउदी अरेबियाको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह स्टेडियममा गएराति भएको खेलमा नेपाल १-० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको हो ।
नेपालले पहिलो हाफमा आत्मघाती गोल गरेको थियो । ३७औं मिनेटमा पुजा रानाले गोल किपर तथा कप्तान अन्जिला तुम्बापो सुब्बालाई दिएको ब्याक पास गोलमा परिणत भएको थियो ।
ब्रेकअघि अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन । ७६औं मिनेटमा सावित्रा भन्डारीले बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । उनले रश्मी घिसिङको पासमा गोल गरेकी थिइन् । इन्जुरी समयमा प्रिति राईले बक्स बाहिरबाट सुन्दर गोल गरेपछि नेपालले जित सुनिश्चित गर्यो ।
जारी प्रतियोगितामा डिफिल्डर प्रितीले उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । अब उपाधिका लागि नेपालले भोलि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।