Mero Chitwan
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ

काठमाडौँ-वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले  दागबत्ती दिए । 

त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले स्वर्गीय आचार्यको गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि गाएका थिए । 

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरे । महामन्त्री थापाले गायक आचार्यको प्रस्थानसँगै साङ्गीतिक संसारमा एक युगको समापन भएको बताए । अर्का महामन्त्री शर्माले एउटा गायकले  ३० वर्षदेखि गीत गाउन नसक्नुको पीडा अन्यले महसुस गर्न नसक्ने बताए ।  “एउटा गायकको सपना अन्तिम साससम्म गाउँ भन्ने नै हुन्छ  तर उहाँले सामना गर्नुपरेको परिस्थिति हामी सोच्न पनि सक्दैनौँ । उहाँको गीत हजार सपनाको माया लागेर आउँछमा ती सबै भाव भनिएकोजस्तो लाग्छ”, महामन्त्री शर्माले भने । 

सङ्गीतकार तथा गायक टीका भण्डारीले नेपाली गीतसङ्गीतमा अपुरणीय क्षति भएको बताउनुभयो । सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटाले आफूलाई गीतसङ्गीतमा भविष्य देखाउने र काठमाडौँसम्म आउन प्रेरणा दिने आवाज गायक आचार्यको रहेको बताए । 

विसं १९९९ मा धनकुटाको कुरुलेतेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम सङगीतमा महत्वपूर्ण योगदान छ । आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । 

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो  ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update