Mero Chitwan
भरतपुर भ्रमण वर्ष : तयारी अन्तिम चरणमा, यस्तो हुनेछ उद्घाटन समारोह

भरतपुर-भरतपुर महानगरले यही फागुन १८ गते गर्ने भरतपुर भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘घुमौँ भरतपुर’ भन्ने मूल नाराका साथ मनाउन लागिएको भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको भरतपुर भ्रमण वर्ष २०२४ का संयोजकसमेत रहेकी मेयर रेनु दाहालले जानकारी दिइन् । नारायणी नदीकिनारस्थित प्रदर्शनी मैदानमा विविध साँस्कृतिक कार्यक्रमसहित उद्घाटन समारोह हुनेछ । 

उद्घाटन समारोहमा झन्डै ५० हजारको सहभागिता हुनेगरी तयारी गरिएको मेयर दाहालको भनाइ छ । उद्घाटन समारोहमा सहभागिता जनाउने आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत गर्न महानगरका पाँच स्थानमा स्वागतद्वार निर्माण र सहरी क्षेत्रमा स्मार्ट लाइट जडान गरिएको छ । मेयर दाहालका अनुसार महानगरको पुल्चोक, आँपटारी, चौबीसकोठी, गोन्द्राङ्ग र पश्चिम चितवनको जगतपुर कसरामा निजी क्षेत्रबाटै स्वागतद्वारा निर्माण भइरहेको छ । 

bharatpur-tayari4-1708794582.jpg

भरतपुर भ्रमण वर्ष सफल बनाउन मेयर दाहालको संयोजकत्वमा २ हजार ४ सय सदस्यीय मूल समिति आयोजक समिति र २९ उपसमिति गठन गरिएको र मूल समिति तथा उपसमितिहरु परिचालन गरिएको छ । महानगरका उपप्रमुख तथा कार्यसम्पादन समितिका संयोजक चित्रसेन अधिकारीका अनुसार वडाध्यक्षहरुको नेतृत्वमा हरेक वडाहरुबाट साँस्कृतिक झाँकीसहितको र्‍याली आउने व्यवस्था मिलाइएको छ । जसका लागि दुई सय जना स्वयंसेवक परिचालन हुनेछन् । 

पश्चिम चितवनबाट आउने र्‍यालीलाई हाकिमचोक र त्रिचोक, वडा नं. १०, ११ र १२ वडाको र्‍यालीलाई गेष्टहाउस चौर, वडा नं. १, २ र २९ वडाको क्याम्पाचौरमा जम्मा हुने व्यवस्था मिलाइएको छ । पूर्वनिर्धारित स्थानमा जम्मा भएको झाँकीसहितको र्‍यालीलाई चौबीसकोठी, क्याम्पाचौर, लायन्सचोक हुँदै उद्घाटन स्थलसम्म जाने व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

सुरक्षा व्यवस्था
हरेक वडाबाट आउने र्‍यालीको व्यवस्थापन र सुरक्षाको लागि तीनै तहको सुरक्षा निकायलाई खटाइने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार जनपद प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी परिचालन गरिनेछ भने सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली सेनाको समेत साथ रहनेछ ।

देशका ७ सय ५३ वटै पालिकाहरुमा निमन्त्रणा पठाइएको छ भने चितवनको छवटै पालिकाका प्रतिनिधिलाई मूल समिति र सल्लाहकार समितिमा राखिएको छ ।

bharatpur-tayari2-1708794632.jpg

भ्रमण वर्षमा आउने पर्यटकहरुको भरतपुर बसाइँलाई लम्बाउनका लागि महानगरले २१ वटा पर्यटकीय स्थलहरु, विभिन्न तालहरु तथा धार्मिक क्षेत्रहरुमा सन् २०२४ भरिनै घुम्नसक्ने व्यवस्था मिलाइएको नगरप्रमुख दाहालले जानकारी दिइन् । यहाँ आउने पर्यटकको बसाइँ लामो बनाउन भरतपुरसँगै अन्य पालिकाहरुमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारलाई समेत तीव्र पारिएको छ । यो भ्रमण वर्ष महानगरले सञ्चालन गर्न लागेको भए पनि यो समग्र चितवनको भ्रमण वर्ष भएको मेयर दाहालले बनाइन् ।

उद्घाटन स्थल वरिपरि कम्तीमा चार ठाउँमा प्राथमिक उपचार शिविर सञ्चालन गरिनेछ भने प्राथमिक उपचारसँगै एम्बुलेन्सको समेत व्यवस्था गरिनेछ । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज र महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा प्राथमिक उपचार शिविर सञ्चालन गरिनेछ । त्यस्तै भरतपुर महानगरले ‘घुमौँ भरतपुर’को सँदेश दिन भरतपुर विमानस्थलसहित विभिन्न स्थानमा होर्र्डिङ्गबोर्ड राख्ने काम गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार होर्डिङ्गबोर्डमा भरतपुरका प्रमुख पर्यटकीय गन्तव्य र घुमौँ भरतपुरको सन्देश दिइएको छ ।

 भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तय भइसकेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update