काठमाडौं- काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध के कसुरमा कारबाही गर्ने भन्नेमा प्रहरी अझै स्पष्ट भएको छैन ।
शुक्रबार अस्पतालबाट शिशु चोरी गरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहले आपराधिक उद्देश्यभन्दा आमा बन्ने चाहनाका कारण बच्चा लगेकाले के कारबाही गर्ने भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
शिशुलाई शुक्रबार नै काँडाघारीबाट उद्धार गरेको प्रहरीले सिंहसहित उनकी दिदी पार्वती शाही र पतिलाई पनि नियन्त्रणमा लिएको छ । आफ्नो बच्चा खेर गएपछि सिंहले अरूको बच्चा लगेकी थिइन् । श्रीमानले भने चोरेर बच्चा ल्याएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।
आरोपी सिंहलाई प्रहरीले शनिबार सार्वजनिक गरेको थियो। चोरी भएको बच्चालाई प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ । चोरी गरिएकी शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाई अहिले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।