Mero Chitwan
नारायणगढ–मुग्लिन सडक : ढिस्को काट्ने काम अन्तिम चरणमा, आइतबारदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडकमा ढिस्को कटानको पछिल्लो अवस्था । तस्बिर : मुग्लिन बजार फेसबुक पेजबाट

चितवन : पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेपछि नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ ।

गत पुस ७ देखि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएकोमा ढिस्को भत्काउन अब तीन मिटर मात्रै बाँकी रहेको र फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले जानकारी दिए । 

 ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद पनि फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो ।

आयोजनाका अनुसार पुस ७ गतेदेखि ३ दिनबाहेक अरु सबै दिन मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो । अब पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने प्रमुख नेपालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उनको भनाइ छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो ।गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update