काठमाडौं– काठमाडौैं जिल्ला अदालतद्वारा बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिर रहेर मुद्दा लड्न पाउने भएका छन्।
उनले बिहीबार दिएको पुनरावेदन निवेदन दर्ता गर्दै उच्च अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न सुविधा दिएको हो।
उच्च अदालतले यो सुविधा दिएसँगै अब सन्दीप लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेलमा बस्नु नपर्ने भएको छ। बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका थिए। उच्चले उनलाई सुविधा प्रदान गर्ने विषयमा दिने निर्णय गरेको हो।
जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो। उक्त फैसला बदर गरी सफाइको माग गर्दै उच्च अदालतमा निवेदन दिएका हुन्।
सन्दीप लामिछानेले पुर्पक्षका क्रममा उच्च अदालतबाट रिहा हुँदा २० लाख रुपैयाँ धरौटी राखेकाले उनलाई अदालतले उच्चको फैसला नहुन्जेल थुनाबाहिरै रहन पाउने सुविधा दिएको हो।
जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दा पीडितको आर्थिक अवस्थाको फाइदा उठाउँदै अनुचित प्रभावमा पारेर जबर्जस्ती करणी गरेको आधार देखाएको थियो।
तर सन्दीपले उच्च अदालतमा गरेको निवेदनमा जिल्ला अदालतले गरेका फैसलाको १३ बुँदामा खण्डन गरिएको छ। सन्दीपले प्रभावमा नपारेको र जिल्ला अदालतले भनेजस्तो प्रभावमा पारेको आधार पनि नभएको दाबी गरेका छन्।