Mero Chitwan
भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन

भरतपुर–भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिन २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ ।  बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले दुवै थरिका बोरिङ उद्घाटन गरेकी हुन् । 

भरतपुर महानगरपालिकामा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबवेल, ३३० वटा स्यालो ट्युबवेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबवेल हाल्ने काम भइसकेको छ । भरतपुरमा भएका ट्युबवेलले कुल ६१२० विघा क्षेत्रफलमा सिंचित गरिरहेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् ।

भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालले जानकारी दिइन् । पश्चिम चितवनका सिँचाइको अभावमा पहिला बाझा रहने खेतहरू अहिले सिँचाइका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरू उत्पादन हुने क्रम सुरु भएको उनको भनाई थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update