काठमाडौं- सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै दूध उत्पादक किसानहरुले आन्दोलन घोषणा गरेका छन् ।
१५ वटा किसान संगठनहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय दुग्ध उत्पादक किसानहरुका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको जनाएका हुन् ।
नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ,राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । किसानहरुले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि वाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेले बताए ।
किसान संगठनहरुले संयुक्त रुपमा १६ माग राखेर आन्दोलनको घोषणा गरेका हुन् ।
उनीहरुले फागुन १० देखि २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रम गर्ने जनाएका छन् । फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरु र प्रमुख सचेतकहरुलाई मागपत्र बुझाउने, १४ र १५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने कार्यक्रम रहेको उनले जनाए । घिमिरेका अनुसार फागुन १७ गते मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काचाम गर्ने र २१ गते काठमाडौंमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।
किसानहरुले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् । दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरुले बिक्री नभएको दुधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट सरकारले रोक्न आवश्यक रहेको पनि बताएका छन् । नेपाली किसानले उत्पादन गरेको दुध नेपाली सेना, नेपाल प्रहरी लगायतका निकायहरुले अनिवार्य खरिद गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।