काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति छनोट समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकीलाई सिफारिस गरेको थियो भने बराल दोस्रो नम्बरमा सिफारिस भएका थिए । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरतपछि बराललाई नियुक्ति गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।
विश्वविद्यालयको उपकुलपति छनोट समितिले आइतबार पहिलो नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रोमा बराल र तेस्रो नम्बरमा प्रा.डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
दाहालले उनी मध्ये कसलाई बनाउने भन्ने निर्णय गर्न ५ दिन लगाएका हुन् । बुढाथोकी र बराल दुवै माओवादी समर्थित भए पनि कसलाई बनाउने भन्ने पार्टीभित्रै विवाद भएपछि नियुक्ति गर्न ढिलाइ भएको थियो । माओवादी नेता वर्षमान पुन, देवेन्द्र पौडेलले बुढाथोकीलाई उपकुलपति बनाउनु पर्ने पक्षमा थिए भने प्रधानमन्त्री दाहाल बरालको पक्षमा थिए ।