Mero Chitwan
डेनमार्कमा कुरानसहितका धार्मिक पुस्तक जलाउने कार्य गैरकानुनी घोषित, २ वर्षसम्म जेल सजाय हुने

डेनमार्कमा कुरान र अन्य धार्मिक पुस्तक जलाउने कार्य गैरकानुनी घोषणा गरिएको छ । 

 डेनमार्कको संसदले डिसेम्बर ७ मा यससम्बन्धी विधेयक पारित गरेको थियो। यसअन्तर्गत धार्मिक समुदायका लागि महत्वपूर्ण धार्मिक महत्वका पुस्तकलाई दुर्व्यवहार गर्नु गैरकानुनी हुनेछ ।

नयाँ कानूनसँग सम्बन्धित विधेयक पहिलोपटक सन् २०२३ अगस्टमा पेश भएको थियो। तर, अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित सरोकारलाई ध्यानमा राखेर संशोधन गरिएको थियो । डेनमार्कको संसदमा डिसेम्बर ७ मा विधेयकमाथि मतदान भएको थियो।

१७९ सदस्यीय संसदमा ९४ सदस्यले पक्षमा र ७७ सदस्यले विपक्षमा मतदान गरेका थिए । मतदानअघि संसदमा करिब एक घण्टा बहस भएको थियो, जसलाई इन्टरनेटमा प्रसारण गरिएको थियो । अब कानुन बन्न डेनमार्ककी रानी मारग्रेटाको हस्ताक्षर आवश्यक छ । यो प्रक्रिया पनि यसै महिना पूरा हुने बताइएको छ ।

दुई वर्षसम्मको कैद
नयाँ कानूनमा धार्मिक महत्वका पुस्तक सार्वजनिक रूपमा जलाउने, च्यातेर वा अपहेलना गर्नेलाई दुई वर्षसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुने व्यवस्था छ । यसका साथै धार्मिक महत्वका पुस्तकको भिडियो बनाएर त्यसको फुटेज अनलाइनमा सार्वजनिक गर्नु पनि दण्डनीय अपराध हुनेछ ।

डेनमार्कको न्याय मन्त्रालयले यो कानूनले देशमा आतंकवादको जोखिम बढाउने खालका घटनाको सामना गर्ने लक्ष्य राखेको बताएको छ। न्याय मन्त्री पिटर ह्यामेलगार्डले डेनमार्क र नागरिकको सुरक्षा सुनिश्चित गर्नु महत्त्वपूर्ण भएको बताए। 

यस वर्ष डेनमार्क र स्वीडेनमा कुरान जलाउने घटनाले मुस्लिमबहुल देशबाट कडा प्रतिक्रिया व्यक्त गरेको छ। जुलाई २०२३ मा, केही मानिसहरू बगदादमा रहेको डेनिस दूतावासमा प्रवेश गर्ने प्रयास गरेका थिए ।

विधेयकको आलोचना पनि 
नयाँ कानुनको पनि आलोचना भइरहेको छ । यसले डेनमार्कमा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने आलोचकहरू बताउँछन्। दक्षिणपन्थी संगठन तथा वाम विचारधाराका सांसदहरूले विधेयकको आलोचना गरेका छन् । डेनमार्कको केन्द्रीय दक्षिणपन्थी गठबन्धन सरकारले विधेयकलाई समर्थन गरिरहेको छ। 
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update