काठमाडौं- नेपाली कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै छ । ललितपुरमा जारी महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने प्रस्ताव गरिएको छ । उनले एउटा व्यक्ति राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकमात्र बन्न पाउने पद्धति बसाल्नुपर्ने उनको प्रस्ताव छ । शर्माको प्रतिवेदनमा सरकारमा सामेल मन्त्रीहरूको काम प्रभावकारी नभएको भन्दै आलोचनासमेत गरिएको छ ।
अर्का महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेस गर्दै आगामी चुनावमा कांग्रेसका मतदाताले अरूलाई भोट हाल्न नपर्ने सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनको प्रतिवेदनमा चुनावी गठबन्धन नगर्ने उल्लेख छ ।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदनमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नु कांग्रेसको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै नयाँ राजनीतिक दलहरूलाई दृष्टिकोण नभएका र लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी गरेका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन पनि बैठकमा पेस गरेका छन् । सबै प्रतिवेदनमाथि आज समूहगत छलफल गर्ने र भोलि प्रतिवेदन पारित गर्दै बैठक सक्ने कांग्रेसको तयारी छ ।