Mero Chitwan
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे 

चितवन-भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ ।  नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ । सर्भेको काम आजदेखि सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सोमबारदेखि काम सुरु गर्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो । भरतपुर बिमानस्थलका प्रमुख दीपक बिकका अनुसार आइतबार  नै प्राबिधिकहरुको टोली चितवन आइसकेको छ । एक हप्ताभित्र सर्भेको काम सम्पन्न हुने जनाइएको छ । 

सर्भेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।  यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ ।

 विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल बिस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाईइन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ । 

सम्बन्धित समाचार

भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने

भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update