काठमाडौं : नक्कली मेडिकल काउन्सिल नम्बरको आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले भट्टाचार्यलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। किर्तेसम्बन्धीको कसुरमा अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।
भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर माघ ८ गते सार्वजनिक गरेको थियो। पक्राउ परेका भट्टाचार्यले आफूमाथि लागेको आरोपको स्वीकारोक्ति बयान दिएका छन्।
उनले आफू एमबीबीएस उत्तिर्ण रहेको तर एनएमसीको परीक्षामा फेल भएपछि अरुकै दर्ता नम्बरबाट काम गरेको स्वीकार गर्दै बयान दिएका छन्।
‘मेडिकल काउन्सिलको परीक्षामा अनुत्तिर्ण भएकाले तत्काल काम गर्नका लागि काउन्सिलको इजाजत चाहिने भएकाले काउन्सिलको लेटरहेड तथा छापा प्रयोग गरी इजाजतपत्र नम्बर बनाएर काम गरेको हुँ’ उनले बयानमा भनेका छन्।
उनले फरक फरक ३ जना डाक्टरहरुको एनएमसी दर्ता नम्बरबाट काम गर्दै आएका थिए। विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई धौलागिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचारसमेत गराउने गरेका थिए।
त्यस्तै यलम्बर पोलिक्लिनक, वि केयर हेल्थे सेन्टरमा समेत बिरामी जाँच्दै आएका थिए। भट्टाचार्यले मानिसहरुलाई विश्वास दिलाउन त्रिवि शिक्षण अस्पतालको डाक्टरसमेत भएको भन्दै नक्कली परिचयपत्रसमेत देखाउने गरेका थिए।
अनुसन्धानका क्रममा उनी त्रिवि शिक्षण अस्पतालमा भने कार्यरत नरहेको पाइएको छ। उनीबाट नेपाल मेडिकल काउन्सिलको नक्कली रजिष्ट्रर कार्ड, त्रिवि शिक्षण अस्पतालको आईडी कार्ड समेत प्रहरीले बरामद गरेको थियो।
उनले आफूलाई इन्डोक्राइनोलोजी कन्सल्टेन्ट बताउँदै आएका थिए। भट्टाचार्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि नक्कली कागजपत्र बनाएको समेत खुलेको थियो। उनले प्रतिष्ठानबाट एमडी अध्ययन गरेको कागजपत्र नक्कली बनाएको भेटिएको हो।