काठमाडौं–नेपाली कांग्रेसको महासमिति बैठकमा यसपटक हिन्दू राष्ट्र स्थापनाको मुद्दा चर्कने भएको छ ।
कांग्रेसका हिन्दु राष्ट्रपक्षधर केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव पेस गर्नुका साथै हिन्दू राष्ट्र महाअभियानको घोषणापत्र नै सार्वजनिक गरेपछि यो विषय चर्कने संकेत देखिएको हो ।
महासमिति बैठकमा हिन्दू राष्ट्रको विषय औपचारिक एजेन्डा नबन्ने भएपछि केन्द्रीय सदस्य शंकर भण्डारीलगायतका २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई पुरक प्रस्ताव बुझाएका थिए । जसमा भनिएको छ, ‘कांग्रेसजस्तो व्यापक जनाधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठीक थिएन ।’
प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीता कुमारी, दीलेन्द्र बडू, डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन् । यस्तै, हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, इन्द्रबहादुर बानियाँ र शुक्रराज पनि छन् ।
महासमिति बैठकमा पार्टीले प्रस्तावको रुपमा नल्याए महासमितिमा फरक मतको रुपमा लैजाने उनीहरुको तयारी छ । देवेन्द्रराज कँडेलगायतका केही नेताहरुले भने महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयले प्रवेश नपाए आन्दोलनमा उत्रने चेतावनी नै दिएका छन् ।
पार्टी सभापति देउवाको ग्रिन सिग्नलपछि अभियान अघि बढाएको नेताहरुले दाबी गरेका छन् । गत मंसिर ११ गते नवलपुरमा भएको जिल्ला सम्मेलनमा देउवाले राजतन्त्र कुनै हालतमा नफर्कने,तर धर्मनिरपेक्षताका सवालमा पार्टीमा छलफल गर्न सकिने बताएका थिए । उक्त भनाईले कांग्रेसमा एक खालको तरंंग नै ल्याएको थियो । हिन्दू राष्ट्र अभियानमा एमाले र माओवादी केन्द्रका नेताहरुको समेत समर्थन रहेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।
नेता भण्डारी नेतृत्वको हिन्दू राष्ट्र महाअभियानले हिजो घोषणापत्र नै सार्वजनिक गरेको छ । जसमा २०६२ मंसिर ७ गतेको १२ बुँदे सहमति र दोस्रो जनआन्दोलनको समयमा समेत सनातन हिन्दु राष्ट्र नेपालविरुद्ध कुनै माग वा आग्रह प्रकट नभएको दाबी गरिएको छ ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि कांग्रेसमा सुस्ताएको हिन्दू राष्ट्र फर्काउने अभियान अहिले चर्किएको हो । कांग्रेसका अन्य नेताहरुले अप्रत्यक्ष रुपमा हिन्दू राष्ट्रको विषयलाई समर्थन गरेका छन् । पूर्वमहामन्त्री शशांक कोइरालाले भने हिन्दु धर्मको विषयमा पहिलादेखि नै जनमत संग्रहको वकालत गर्दै आइरहेका छन् भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि धार्मिक स्वतन्त्रता हुनुपर्ने बताउँदै आएका छन्। यसअघि २०६९ सालमा नवलपरासीमा चैत २६ देखि २९ सम्म भएको महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा हस्ताक्षर संकलन भएको थियो । तर, सो विषयले मूर्तरूप पाउन सकेन ।