Mero Chitwan
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कुन-कुन सांसदले सोध्दैछन् प्रश्न ?

काठमाडौं-प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने छन् । कार्यसूची अनुसार प्रधानमन्त्रीलाई आज संसदमा १३ जना सांसदले प्रश्न सोध्ने छन् ।

आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजना लगायतका विषयलाई उठाउने भएका छन् । प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन् ।

यस्तै नेपाली कांग्रेसका गगन कुमार थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्ने छन् । कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद सचिवालयलाई बुझाएका छन् ।

ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको प्रश्नोत्तरपछि राष्ट्रियसभाबाट उत्पत्ति भएको शहीद दरशथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सन्देशसहित टेबुल हुनेछ । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रियसभाबाटै उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धि प्रतिवेशन पेश गर्ने कार्यसूची छ ।

त्यस्तै सांसद प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व पहिलो संशोधन अध्यादेशलाई अश्विकार गरियोस् भनि राखेको प्रस्ताव सभामा निर्णायार्थ पेश हुनेछ । त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व सम्बन्धी अध्यादेलाई स्वीकृत गरियोस् भनि निर्णायार्थ पेश गर्नेछन् । 

साथै अर्थमन्त्री महतले नै बैंकिङ कसुर तथ सजाय (दोस्रो संशोधन) विधयेक २०८० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । यी बाहेक शून्य समयको पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update