Mero Chitwan
छोरीलाई संगै बाँधेर आत्मदाहको प्रयास,  छोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा : बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह प्रयास गरेकी छन् । घटनामा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

    आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइड नोट’ फेला परेको उनले बताए ।

    उक्त नोटमा रम्तेलले पतिको विवाहेत्तर  सम्बन्धका कारण आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आगो लगाएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update