एक प्रख्यात साहित्यिक पत्रिकाका सम्पादक महत्वाकांक्षी योजना बनाउँदै थिए ! उनी नेपाली साहित्यलाई गहकिलो उपहार दिन चाहन्थे ! उनको पत्रिकाले "समकालीन नेपाली प्रतिनिधि कथा " नामक सामयिक सङ्कलन निकाल्दै थियो! जतिजति कथा प्राप्त हुन्थे उतिउति उनको अनुहारमा उत्साहको लहर देखा पर्थ्यो !
उनी कथा छनोटको चरणमा थिए ! एकजना सम्पादन सहयोगी लिएर उनी काम गर्न थाले ! प्राप्त भएका कथाहरुलाई एउटा फाइलमा सुरक्षित गरेपछि उनी कथाहरु हेर्न थाले !
उनलेे सहयोगीलाई भने, " ढिला भए पनि होस् तर उत्कृष्ट कथाहरू छनोट गर्नुपर्छ ! "
अब उनलेे कथाकारहरुको नाम हेर्दै स्वीकृत कथाहरु एकातिर र अस्वीकृत कथाहरु एकातिर छुट्याए !
छापिने कथाहरुको अन्तिम नामावली तयार भयो ! उनलेे सहयोगीलाई भने, "अब तपाईंले यी कथाहरूको बिषयसूची सहित कम्प्युटरमा टाइप गरिदिनु होला ! "
सम्पादकले छनोट गरेका कथाहरू पढेपछि सहयोगी अवाक् भए अनि सम्पादकको अनुहार नियाल्न थाले ! उनको अनुहारमा आशङ्काको रङ्ग लत्पतियो ! उनलेे सम्पादकलाई हेर्दै सोधे, " यी कथाहरु छाप्ने हो र ! "
" हो ! यिनै कथाहरु मैले चयन गरेको हुँ ! " सम्पादकको अनुहारमा कुटिल मुस्कान प्रकट भयो !
" तर तपाईंले उता फाल्नु भएका कथाहरु पो उत्कृष्ट छन् त ! " सम्पादन सहयोगीले भने !
उनको अनुहार आवेगले एकैचोटि रातो–रातो भयो तर पनि सहयोगीको मन बुझाउन उनलेे केही नरम स्वरमा भने, " तपाईंले भनेको ठीकै हो ! मैले छानेका कथाहरु उत्कृष्ट होइनन् ! उता फालेका नै राम्रा कथाहरु हुन् ! रद्दी कथा परे पनि मैले छानेका कथाकारहरु भने सबै राम्रा हुन् ! "
उनका कुरा सम्पादन सहयोगीले केही पनि बुझ्न सकेनन् !
सम्पादकले पुनः अर्थ्याए, " मैले छनोट गरेका कथाकारहरु कोही मेरो पत्रिकाका आजिवन सदस्य, कोही मेरा वार्षिक ग्राहक अनि कोही विज्ञापनदाता हुन् ! तपाईं कुरा बुझ्नुस् न यार ! "
वागमती ११, कर्मैया, सर्लाही