Mero Chitwan
बालकुमारी घटना छानबिन आयोगको प्रतिवेदनले कसलाई दोषी देखायो ? 

काठमाडौँ- बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । घटनामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको निष्कर्ष निकाल्दै समितिले प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई कार्यान्यवन गरिने बताए । गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

balkumari-1703953634.jpg

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ४४ दिनमा प्रतिवेदन बुझाएको हो । 

समितिले घटनामा बल प्रयोग गर्ने अधिकृतहरुलाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ । समितिले २९ जनासँग बयान लिएको थियो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला नगएको भए घटना हुने सम्भावना न्यून रहेको उल्लेख गर्दै प्रतिवेदनले मन्त्रीको कार्यबारे पनि प्रश्न उठाएको छ । सुरक्षा योजना बनाउन नसकेकामा प्रमुख जिल्ला अधिकारी र ललितपुरका प्रहरी प्रमुखलाई सचेत गराउनसमेत समितिले सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष पौडेलले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्यसहित १६ जनाको बयान अभिलेख गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान लिएको जनाएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update