भरतपुर-भरतपुर विमानस्थल विस्तारको कार्य अगाडि बढाउन सर्भेको काम तत्काल अघि बढ्ने भएको छ ।
आज भरतपुर महानगरपालिकामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाली सेना तथा महानगरपालिकाबीचको संयुक्त बैठकले आउने सोमबारदेखि विमानस्थल बिस्तारको काम अगाडि बढाउन सर्भेको काम तत्काल शुरू गर्ने निर्णय गरेको हो । त्यसका लागि देखिएका सबैखाले समस्यालाई समाधान गरी प्याकेजमै काम गर्ने गरी नागरिक उड्ययन, महानगर र नेपाली सेनाले आबश्यक सहजीकरण गरि बिस्तारको काम द्रुतगतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएको महानगरले जनाएको छ ।
गत माघ १८ गतेको मन्त्रिपरिषद् बैठकले भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको थियो। योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको थियो ।
भरतपुर विमानस्थलको रनवे सानो हुँदा ठूला जहाज अवतरण हुन सक्दैनथ्यो । अब घोडा प्रजनन केन्द्रले प्रयोग गर्दै आएको १९ विगाहा जमिन विमास्थल बिस्तारमा प्रयोग गरेर बिस्तार भएपछि ठूला जहाज पनि अवतरण गर्नसक्ने बताइएको छ । भरतपुरमा अहिले १२ सय मिटर लामो र ३० मिटर चौडा रनवे छ भने बिस्तारपछि १५ सय मिटर लामो रनवे बन्नेछ ।
रनवे बिस्तारपछि ७२ सिटे एटिआर जाज पनि भरतपुर अवतरण गर्नसक्नेछन् भने रात्रिकालीन उडान पनि हुनेछ । घोडा प्रजनन केन्द्र सार्नेबारे निर्णय हुन नसक्दा १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलान्यास भएर काम अघि बढे पनि धावनमार्ग बिस्तार रोकिएको थियो ।
सम्बन्धित समाचार
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने
भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी