Mero Chitwan
गौतम बुद्ध रंगशाला निर्माणका लागि एक साताभित्रै टेण्डर गरिने

चितवन : भरतपुर महानगर प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताएकी छन् । 

भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पारिन् । 

‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरिसकेको छ’,उनले भनिन्,‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुर्‍याउँछ ।’

प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन लागेको बताइन् ।  पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्यारापिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाइ छ ।

वागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजार भन्दा बढी खेलाडी र प्रशिक्षकहरु भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उनले बताइन् । 

सन् २०२७ मा नेपालमा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समवन्य गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद र क्यानलाई उनले आग्रह पनि गरिन् । कार्यक्रमका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गरे । 

रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने उनले बताए । क्रिकेट एशोसियसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गरे । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काले बताए । 

लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रबारदेखि लिग चरणको नकआउट खेल सुरु भएको छ ।

प्रत्येक शुक्रबार र शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा क्रिकेट एशोसिएसन चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसले प्रायोजन गरेको छ । प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update