Mero Chitwan
ग्रामीण क्षेत्रका गतिविधि उजागर गर्न सञ्चारकर्मीलाई इच्छाकामनाका जनप्रतिनिधिको आग्रह

चितवन : सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताएका छन्  ।

राष्ट्रिय समाचार  समिति (रासस) जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाद्वारा प्रजातन्त्र दिवस तथा राससको ६३औँ वार्षिकोत्सवका अवसरमा इच्छाकामनामा आयोजित ‘सङ्घीयता, स्थानीय सरकार र पत्रकारबीच अन्तरक्रिया’मा उनीहरुले नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिए । 

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले  ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गरे ।  उनले पर्यटकीय हिसाबले महत्वपूर्ण इच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्न पनि अनुरोध गरे । उने भने , “इच्छाकामना विकट होइन, पर्यटकीयस्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँट सहजै दृश्यावलोकन गर्न सकिन्छ, सो विषयमा तपाईंहरुले समाचारमार्फत सहयोग गर्नुपर्छ ।”
 
प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्योलताले नागरिकले सङ्घीयताको अनुभूत गर्न नपाएको धारणा राखे । उनले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले  स्थानीय सरकारले  मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा  जोड दिए । गाउँपालिका उपाध्यक्ष  माया सिलवालले इच्छाकामना भूगोलले  विकट रहे पनि धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्णरहेको  बताइन्  उनले यहाँको प्रचारप्रसारका  लागि भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरिन् । 
 
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका  केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, इच्छाकामना–५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update