चितवन — नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा हेरिएको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माण सुरु भएको १४ वर्ष भयो ।ठूला गाडी केही निश्चित ठाउँसम्म पुगे पनि भण्डारा मलेखु छिचोल्न सक्दैनन् । बीचबीचमा सडक साघुँरा र अप्ठ्यारो छन् ।
बर्खामा सडक ठप्प नै हुन्छ । कालोपत्रको काम सुरुवात मात्रै भएको छ । व्यस्त सडकको विकल्प बन्न सक्ने यो बाटोको अवस्था अहिले ग्रामीण सडकको जस्तो छ । चितवन भण्डाराबाट सुरु भएर धादिङ मलेखुमा टुंगिने गरी २०६६ सालमा सुरु भएको यो सडकको लम्बाइ ६६ किमि छ । सडकको चितवनतर्फ ३६ र धादिङतर्फ ३० किमि हिस्सा पर्छ । ‘यो सडक दुई लेनको बनाउने योजना छ तर बजेट पर्याप्त छैन । सीमित बजेटले थोरैथोरै काम भएको छ,’ भरतपुरस्थित डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर चन्देश्वर साहले भने ।
सडकको ट्र्याक खोल्ने काम पनि ११ वर्षअघि सकिएको थियो । तर हाल चितवनतर्फ १० किमि र धादिङतर्फ ११ किमि मात्रै कालोपत्र भएको छ । ‘यो वर्ष थप तीन सय मिटर कालोपत्र होला । बजेट जम्मा १ करोड २० लाख रुपैयाँ आएको हो । यसले कति काम गर्न सकिएला र,’ धादिङ क्षेत्र हेर्ने नुवाकोटको डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर अमृतप्रसाद यादवले भने । चितवनतर्फ पनि त्यति नै बजेट आएको साह बताउँछन् ।
काठमाडौंलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भनिए पनि त्यसअनुसार काम हुन नसकेको राप्ती नगरपालिका–१३ का वडा सदस्य विष्णुबहादुर चेपाङको भनाइ छ । ‘हामीले वडा र पालिकाको बजेटबाट खनेको बाटोमा पनि दोहोरो जिप चल्छ । चेपाङ मार्गमा त एउटा जिप गइरहेका बेलामा अर्को गाडी आयो भने साइड दिन या उछिन्न नसकिने ठाउँ धेरै छ,’ उनले भने ।
राप्ती नगरपालिका–१३ मा पर्ने विकट पहाडी बस्ती लोथरको स्यामराङका धनलाल चेपाङ ६२ वर्षका भए । उनी हुलाकी हुन् । पहिला आठदेखि १० घण्टा हिँडेर भण्डारा बजार जान्थे । ०६९ सालपछि दुई घण्टा हिँडेर एउरेलीटार गएपछि जिप चढ्न पाइने भयो । अहिले गाउँमै नपुगे पनि नजिक नजिक गाडी पुग्छ । गाडी चढे पनि बाटो राम्रो नभएका कारण भण्डारा पुग्न कम्तीमा तीन घण्टा लाग्छ । ‘बाटो अप्ठ्यारो छ भनेर भाडा बढी लिन्छन् । हामीले तीन सय रुपैयाँ भाडा तिरेर ३० किलोमिटरका लागि तीन घण्टा गाडीमा हिँड्नुपरेको छ । बाटो राम्रो भए समय र भाडा कम हुन्थ्यो,’ धनलालले भने ।
उक्त मार्गमा चितवनका साथै धादिङतर्फ पनि चेपाङ समुदायको बाक्लो बसोबास छ । यो मार्गभन्दा अघि यो क्षेत्रमा सडक खासै पुगेको थिएन । चेपाङ मार्ग बन्न सुरु भएपछि नै पहाडी भेगमा गाडी गुड्ने बाटो बन्न लागेका हुन् । ‘काठमाडौंसँग जोडिने कम दूरीको सडक बन्न लागेको हो भन्ने सुनेको हो । यो सडक बने हामी चेपाङ समुदायले पनि लाभ लिन सकिन्थ्यो । आवतजावत मात्रै हैन कृषि र अन्य व्यपार उद्यम पनि बढ्थ्यो,’ वडा सदस्य चेपाङले भने ।
उक्त मार्गलाई स्तरीय दुई लेनको सडक बनाउन पाँच वर्षअघि डीपीआर पनि तयार भएको इन्जिनियर साहले बताए । ‘तीन किलोमिटर सुरुङ मार्गसहित सडक स्तरोन्नति गर्नका लागि डीपीआर पनि तयार भएको हो । तर कार्यक्रम र बजेट आएको छैन,’ उनले भने । भण्डारा–मलेखु सडकको काम सकेर नारायणगढ–मुग्लिन सडक स्तरोन्नति सुरु गर्ने योजना थियो । तर नारायणगढ–मुग्लिन सडक विस्तार सकिएको पाँच वर्ष हुन लाग्दा पनि चेपाङ मार्ग अझै अलपत्र छ ।