काठमाडौं- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन कर्मचारीलाई दोषी ठहर गर्दा राजनीतिक व्यक्तिहरुलाई भने उन्मुक्ति दिएको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि छन् ।
अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ । सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्णशमशेरको परिवारलाई पनि दोषी ठहर गरेको छ । अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्रीशमशेर राणालाई भने सफाइ दिएको छ ।
यस्तै विशेष अदालतले ललितानिवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीको आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।
बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन् ।
छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा ९ करोडभन्दा बढी हानि-नोक्सानी गरेको अदालतले ठहर गरेको छ । उनीहरुसँग दामासाही ८० लाख बिगो असुल उपर गर्ने र दुई वर्ष कैद सजाय तोक्ने निर्णय भएको छ ।