
काठमाडौँ- सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी दिइन् । सरकारले प्रारम्भिक चरणमै एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा आवश्यक छानबिन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उनले सरकारको अग्रसरतालाई गठबन्धन दलका नेताहरुले समर्थन गरेकाे बताइन् ।
मन्त्री शर्माले उक्त प्रकरणमा गठबन्धन दलका शीर्ष नेताको कुनै पनि संलग्नता नरहेको जनाउँदै त्यस्ता अफवाहमा कुनै पनि सत्यता नरहेको बताइन् ।