Mero Chitwan
आईसीसी विश्वकप क्रिकेट लिग टु  : नेपाल नामिबियासँग पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो । 

योसँगै नेपालको लगातार १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलको विजय यात्रा पनि टुंगिएको छ । सन् २०२२ नोभेम्बर १४ यता नेपाल एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो । मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम सम्हालेपछि नेपालले घरेलु मैदानमा हार व्यहोरेको पनि यो पहिलो पटक हो ।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको नामिबियाले कसिलो बलिङ गर्दै नेपाललाई सस्तैमा समेट्यो । नेपालले ४१ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ३२ रन जोड्न सक्यो । टीयू मैदानमा नेपालले ओडीआईमा बनाएको यो सबैभन्दा कम स्कोर हो । 

जवाफी ब्याटिङमा आएको नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजयी सुरुवात गरेको छ । नामिबियाका जान निकोल ३१, मिकेल भान लिङगेन २३ रन, निकोलस डेभिन १५, जान फ्रिलिंक ३४, कप्तान गेरहर्ड इरास्मस ८ र जेन ग्रिन २ रन बनाएर आउट भएका थिए । रुवेन ट्रम्पलम्यान १ र जेजे स्मिथ १७ रनमा नटआउट रहे । नामिबियाका तीन विकेट सोमपाल कामी, दुई विकेट ललित राजवंशी र एक विकेट रोहित पौडेलले लिए ।

 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबिया सामु १ सय ३३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।

सुरुवातदेखि नै कमजोर प्रदर्शन गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

१३ रन बनाउँदा नेपालका मुख्य तीन ब्याटर कुशल भुर्तेल, अनिल साह र आसिफ शेख आउट भइसकेका थिए । ओपनर कुशल भुर्तेल इनिङको पहिलो बलमै रोयल डक भए । उनलाई रुबेन ट्रम्पलम्यानले आउट गरे । अनिल साहले ८ रन मात्र जोड्न सके, उनलाई पनि ट्रम्पलम्यानले नै आउट गराए । ४ रन जोडेका आसिफ शेख ज्याक ब्रासेलको सिकार बने ।

१८ वर्षीय ब्रासेलले यसै खेल मार्फत नामिबियाको सिनियर टोलीमा डेब्यु गरेका हुन् । ब्रासेलले नै कप्तान रोहित पौडेललाई पनि १ रनमै बोल्ड आउट गराए ।

त्यसपछि क्रिजमा रहेका भीम सार्की र कुशल मल्लले नेपालको इनिङलाई केही सम्हाल्न खोजेका थिए । तर, ४४ रनमा खेलिरहेका भीमलाई नामिबियाका कप्तान गेरहार्ड इरास्मसले सिकार बनाए । उनैले १५ रन बनाएका कुशल मल्ललाई पनि पभेलियन पठाए ।

त्यसपछि क्रिजमा आएका सोमपाल कामी २ रनमै आउट भए । नेपालले आठौं विकटका रुपमा गुल्शन झालाई गुमायो । सोमपाल र २१ रन बनाएका गुल्सनलाई पनि नामिबियाका कप्तान इरास्मसले नै आउट गरे । उनले नेपालका ५ विकेट गिराए ।

नेपालले नवौं विकेटका रुपमा १२ रन बनाएका पवन सर्राफलाई गुमायो भने १०औं विकेटका रुपमा १६ रन बनाएका करण केसीलाई गुमाएको हो । करणलाई पनि नामिबियाका कप्तान इरास्मसले नै आउट गराए । नेपालले ४१ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो ।

नामिबियाका लागि ट्रम्पलम्यानले र ब्रासेलले २-२ विकेट लिए भने, लोफ्टी इटनले १ विकेट लिए ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update