Mero Chitwan
प्रभु बैंकको बचतकर्ताको रकम  हिनामिना गर्ने बैंकका कर्मचारीविरुद्ध प्रहरीमा मुद्दा

रुकुम : आठविसकोट नगरपालिका–९ राडीमा रहेको प्रभु बैंकमा बचतकर्ताको रकम खातामा जम्मा नगरी हिनामिना गरेको भन्दै उक्त बैंकका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमामुद्दा दर्ता भएको छ । बैंकका अप्रेशन ईन्चार्ज निरज विक्रम शाह विरुद्ध कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोप सहित  मुद्दा दर्ता गरिएको हो ।

प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले शाहविरुद्ध बैंकिङ कसुरमा बुधबार मुद्दा दर्ता गराएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

पदको दुरुपयोग गरेर शाहले बैंकबाटै बचतकर्ताको रकम हिनामिना गरेको भनेर सेवाग्रहीले गुनासो गरेपछि बैंकले छानविन सुरु गरेको र गलत विवरण र खातावालको अनुमति बिनै बैंकबाट रकम निकालेर हिनामिना गरेको पाइएको भट्टराईको भनाइ छ ।

‘प्रभु बैंकको प्रादेशिक कार्यालयबाट आएको टोलीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा हालसम्म १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको जाहेरीमा उल्लेख गरिएको छ,’ उनले भने ।

यो घटनाबारे विस्तृतः छानविन जारी रहेको भन्दै रुकुम पश्चिम प्रहरीले हाल आरोपी शाह फरार रहेको बताएको छ । गत माघ २० गतेबाट शाह विदामा बसेको र अहिले उनी सम्पर्कमा नरहेको बताइएको छ ।

प्रभु बैंक राडी शाखामा यसअघि कार्यरत ९ जना कर्मचारीलाई जिम्मेवारी बिहिन बनाएर नयाँ कर्मचारीको टोलीद्वारा शाखाको काम सुचारु भइरहेको पनि डिएसपी भट्टराईले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update